नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

प्रधानमन्त्रीको प्रचारमोह / छपाइमा अनियमितता

Posted by नेपाली मुटु on June 29, 2010

माकुनेको प्रचारमोह पनि अचम्मको रहेछ । पहिला पहिला पञ्चायत कालमा राजा र उसका भरौटेले गर्थे रे । आफ्नो शासनकालको अन्त्य ताका पुर्वराजा ज्ञानेन्द्रले पनि खुब प्रचार युद्ध गरेका थिए । आज हाम्रा लिसो प्रधानमन्त्रि माधवकुमार नेपाल पनि खुब प्रचारमा जुटेका रहेछन् । यसलाई त अझ व्यक्तिगत फोटो एल्वम् भन्दा पनि हुने रहेछ । आफ्नो व्यक्तिगत तस्विरहरुको पुस्तक सरकारी खर्चमा निकाल्ने त्यो पनि अनियमित तवरबाट । वाह ! मान्नै पर्छ हाम्रा प्रधानमन्त्रिलाई त । आखिर उनले बुझिसकेका छन् जनता भनेका केहि होइनन् । नत्र दुई ठाउँबाट हारेका र संविधानकै पक्षमा नरहेका उनलाई किन पो प्रधानमन्त्रि मानिरहन्थे ।

प्रधानमन्त्री माधवकुमार नेपालले निजी प्रचारमा नयाँ कीर्तिमान कायम गरेका छन् । प्रधानमन्त्रीले आफैँले गरेका भाषण, भेटघाटका तस्बिर, आफ्ना पालामा गरेको भनिएका कामका इतिवृत्तान्त समेटेर नेपाली र अंग्रेजी भाषामा गरी १० वटा पुस्तक प्रकाशनमा ल्याएका छन् ।

यसअघि कुनै पनि प्रधानमन्त्रीले आफ्ना भाषण, तस्वीर र आफैँले गरेका कामबारे सरकारी खर्चमा पुस्तक निकालेका थिएनन् । पञ्चायतकालमा तत्कालिन राजदरबारले मात्रै प्रचार पुस्तकहरु प्रकाशन गर्थ्यो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीका नाममा गरेको पहिलो सम्बोधन सानो पुस्तिकाका रूपमा प्रकाशित छ ।

प्रधानमन्त्री भएयता नेपालले गरेका भाषणका मात्र भाग १, २ र ३ गरी तीनवटा पुस्तक आएका छन् । तीनवटैको अंग्रेजी संस्करणसमेत निकालिएको छ । सरकारले एक वर्षे कामको फेहरिस्त समेट्दै आफ्नो उपलब्धिका रूपमा पुस्तक निकालिसकेको छ । यसअघि सय दिन पुग्दा पनि पुस्तिका प्रकाशन गरिएको थियो । प्रधानमन्त्री भएयताका विभिन्न भेटघाटका तस्वीर संकलित गरी रंगीन पुस्तकसमेत निकालिएको छ ।

राजनीतिक गतिरोध अन्त्य गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने र संविधानसभाबाट नयाँ संविधान निर्माण गर्नुपर्ने मुख्य कार्यभारप्रति प्रधानमन्त्री नेपाल गम्भीर छैनन् भन्ने उनका प्रकाशन आफैं साक्षी छन् । यी प्रकाशनले राजनीतिक गतिरोधको निकास खोज्नभन्दा मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार समूह, परिवारजन र आफैँलाई भेट्न आउनेसित थरी-थरीका तस्वीर खिच्नेतर्फ प्रधानमन्त्रीको रुचि उजागर गरेका छन् ।

‘प्रधानमन्त्री नेपाल प्रचारका निकै भोका रहेछन्,’ प्रधानमन्त्री कार्यालयका एक बरिष्ठ अधिकृतले भने, ‘पञ्चायतकालमा राजाहरुले आफ्ना सन्देश र कामबारे पुस्तक निकाल्थे । तर तस्बिरको पुस्तक निस्केको सम्झना छैन । पञ्चायती राजाको शैलीलाई पनि नेपालले उछिनेका छन् ।’

यी पुस्तक कसको आदेशमा कति छापिए, कहाँ राखिए र कसले वितरण गर्दैछ भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका कर्मचारीहरू स्वयं बेखबर छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रकाशक रहेको पुस्तकको बिल आएपछि मात्रै उनीहरूले पुस्तक छापिएको थाहा पाउने गरेका छन् ।

प्रधानमन्त्रीका पुस्तक प्रकाशन गर्दा कानुन र स्थापित प्रक्रियासमेत मिचिएको छ । पुस्तक छाप्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस शाखाले टिप्पणी उठाउने, निर्णय गर्ने, ‘कोटेशन’ माग्ने र सस्तो कोटेशन स्वीकृत प्रकाशनका लागि पठाउने नियम र प्रक्रिया छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजाल स्वयंले मन्त्रिपरिषद् कार्यालयको निर्णयबिनै किताब छपाउने र बिल मगाएर भुक्तानी गराएको जानकारी मन्त्रिपरिषद् कार्यालयले दियो ।

पुस्तक प्रकाशन भएपछि पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको ‘स्टोर’ मा दाखिला गर्ने र कस-कसलाई वितरण गर्ने हो, निर्णय गरी वितरण गर्ने प्रचलनसमेत उल्लंघन गरिएको छ । दाखिला हुनुपर्ने शाखाका कर्मचारीलाई नै कस्ता- कस्ता पुस्तक प्रकाशन भए भन्नेसमेत थाहा छैन । नमूनाका रुपमा दुई, चारप्रति पुस्तकमात्र स्टोर शाखामा हुने ती अधिकृतले बताए ।

‘पुस्तकको प्रकाशन, दाखिला र वितरण हाम्रो तहबाट हुनुपर्ने हो, तर पार्टी च्यानलबाट छिटो र भनेका ठाउँमा पुस्तक पुग्ने भएकाले उतैबाट वितरण गर्छन्,’ अर्का अधिकृतले बताए । पुस्तक वितरण प्रधानमन्त्रीका पे्रस सल्लाहकारसमेत रहेका एमाले कार्यकर्ता बिष्णु रिजालले गर्ने गरेका छन् ।

सरकारी प्रकाशन सूचना तथा सञ्चार मन्त्रालयमातहतको छापाखानामा छाप्नुपर्ने व्यवस्था भए पनि सरकारका तीन महिना र एक वर्षका उपलब्धिबाहेक सबै पुस्तक बाहिर छापिएका छन् । सरकारी निकायले पुस्तक प्रकाशन कोटेसनमार्फत् गर्नुपर्नेमा बिना कोटेसन सोझै एमाले कार्यकर्ता दिनेश श्रेष्ठको छपाई घर प्रालिलाई छाप्न दिइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रिजालले सबै प्रकाशन बिना कोटेसन छपाइएको स्वीकारे । उनले १ लाख ७५ हजार रुपैयाँसम्म सोझै प्रकाशन गर्न दिन पाउने नियमअनुसार ती पुस्तक छपाएको दाबी गरे । तर, तस्वीर -प्रधानमन्त्री माधवकुमार नेपालको एक वर्षे कार्यकालका छानिएका तस्बिरहरु) नामक पुस्तक छाप्दा भने त्यो नियमको ठाडै उल्लंघन भएको छ ।

मन्त्रिपरिषद् कार्यालयको लेखा शाखाले एक हजारप्रति पुस्तकको ५ लाख ८ हजार रुपैयाँ भुक्तानी दिएको छ । रिजालले भने तस्वीर, स्क्यानिङ, छपाइ, बाइन्डिङलगायतका काममा अंश/अंश गरेर भुक्तानी दिइएकाले १ लाख ७५ हजार रुपैयाँको सीमा ननाघिएको दाबी गरे ।

तस्बिर पुस्तकमा समेटिएका अधिकांश फोटो शाहीकालीन राजा ज्ञानेन्द्रको झल्को दिने खालका छन् । ज्ञानेन्द्रकै शैलीमा प्रधानमन्त्री नेपालले गृहजिल्ला रौतहट, काठमाडौको आफ्नो निर्वाचन क्षेत्रलगायतका स्थानमा अभिनन्दन लिदै गरेको, उद्घाटन शिलान्यास गर्दै गरेको तस्बिरलाई प्राथमिकता दिएका छन् । आफ्नी श्रीमती, छोराछोरी, अन्य पारिवारिक भेटघाट, सल्लाहकार, निजी सचिवालय समँहसंग खिचिएका तस्बिर प्रशस्त छन्, मानौ त्यो प्रधानमन्त्री नेपालको निजी एल्बम हो ।

प्रधानमन्त्री कार्यालयबाट हालसम्म चारवटा मन्तब्यका पुस्तकका लागि मँल्य अभिवृद्धि करसहित ५ लाख २६ हजार ५ सय ८० र तस्बीर पुस्तकका लागि ५ लाख ८ हजार रुपैया भुक्तानी भइसकेको छ । मन्तब्यका दुई र तस्बिरको अंग्रेजी संस्करणको भुक्तानी दिन बाँकी छ । सरकारको तीन महिना र मुख्यमुख्य काम सिंहदरबारस्थित सरकारकै मुद्रण विभागमा छापिएकाले त्यसको बिल आउन बाकी रहेको एक कर्मचारीले बताए ।

छपाइमा अनियमितता

प्रधानमन्त्री कार्यालयबाट पुस्तकका लागि भुक्तानी दिएको रकम हेर्दा छपाइमा समेत अनियमितता देखिन्छ ।

छापिइसकेको एक हजार तस्बीर पुस्तकका लागि प्रधानमन्त्री कार्यालयले ५ लाख ८ हजार भुक्तानी दिएको छ । यस हिसाबले प्रति पुस्तक ५ सय ८ रुपैया पर्न आउँछ । पुस्तक मुद्रण गर्ने छपाइ घरका एक सञ्चालक लक्ष्मण केसीले भने आफूहरुले एक हजार तस्बीर पुस्तक दुई लाख ९५ हजारमा छापेको बताए । यस हिसाबले प्रति पुस्तक २ सय ९५ मात्र पर्न आउछ ।

डिल्लीबजारस्थित प्रिन्टिङ सोलुसनका प्रबन्ध निर्देशक माधव भट्टराई सरकारले निकालेको तस्बीर पुस्तक एक प्रति छाप्न बढीमा एक सय रुपैयाँ पर्ने बताउछन् । छपाइघरका केसीले प्रधानमन्त्रीको मन्तब्यका पुस्तकहरु नेपालीको प्रतिगोटा २ सय २५ र अंग्रेजीको ५८ का दरले छापेको बताए । तीन भागमा रहेको मन्तब्यको नेपाली पुस्तकको सरदर पृष्ठ २ सय छ भने तीन भागमै रहेको अंग्रेजीको पृष्ठ ५० को हाराहारीमा छ । सोलुसनका भट्टराइका अनुसार त्यत्तिकै गुणस्तरको पुस्तक छाप्न २ सय पृष्ठको नेपालीको ७० रुपैया र ५० पृष्ठको अग्रेजीको ३५ रुपैया जति पर्छ ।

‘सरकारी प्रेसमा त्योभन्दा पनि निकै कम खर्चमा छापिन्छ । पुस्तकको गुणस्तर र भुक्तानी गरिएको रकम हेर्दा हामीले पनि निकै आर्थिक अनियमितता भएको महसुस गर्‍यौ,’ एक अधिकृतले भने, ‘राजनीतिक तहबाट कामकारवाही भएकाले हामीले बोल्ने ठाउ नै छैन ।’

प्रधानमन्त्री कार्यालयबाट ३ सयका दरले ३ सय २५ तस्बिर खरिद गरेको भनेर ९७ हजार ५ सय भुक्तानी लिइएको छ । तर पुस्तकमा तस्बिर दिएको भनेर नाम समेटिएका एक फोटो पत्रकारले आफैंले कुनै रकम नपाएको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s