नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यसरी लेखियो उर्गेनको घोडा

Posted by नेपाली मुटु on June 23, 2010

अब फुरेका भरमा, एक दुई महिनामा उपन्यास लेख्ने दिन गए र यसरी उपन्यासकार हुने दिन पनि गए । अब उपन्यासकारले ‘फिल्ड’मा गएर पसिना चुहाउँदै अध्ययन-अनुसन्धान नगरी सुख छैन । लेख्न जान्नु मात्रै पर्याप्त छैन, किनभने लेखन भाषाको खेल मात्रै होइन । युग पाठकको पहिलो उपन्यास उर्गेनको घोडा अहिले निकै चर्चामा छ । यो उपन्यास लेख्न उनले चार वर्ष लगाए । तामाङ जातिलाई नजिकबाट हेर्न, बुझ्न र चिन्न उनी पटक-पटक मकवानपुरका कुनाकन्दरा पुगे, विभिन्न व्यक्तिसँग बहस र छलफल गर्दै जनयुद्धका विभिन्न आयामलाई विभिन्न कोणबाट हेर्ने र पर्गेल्ने प्रयत्न गरे ।

उर्गेनको घोडाको लेखनक्रममा युगले भोगेका सास्ती, तनाव, दुःख, हर्ष र आनन्दादिको बेलिविस्तार :

पोखरीमा हाम्फालेँ
साथी उदय अधिकारीले मलाई फसाइदिए । ०६२ को प्रारम्भतिर होला, ध्रुवचन्द्र गौतम हेटौँडा आएका थिए । साँझको गफगाफमा उदयले मैले उपन्यास लेख्दै गरेको घोषणा गरिदिएँ । मैले अस्वीकार गरिनँ । जब कि, उपन्यासका नाममा एक हरफ पनि लेखेको थिइनँ । प्रशस्त उपन्यास लेखिसकेका ध्रुवचन्द्र गौतमको सुझाव थियो- धेरै सोच्ने होइन, पोखरीमा हाम्फाल्ने, पौडन स्वतः सिकिन्छ । म पनि हाम्फालेँ पोखरीमा, संकोच मान्दै, गुमनाम ढंगले, गोप्य तरिकाले । म यसो गर्न बाध्य पनि थिएँ, किनभने उदयले घोषणा जो गर्दिसकेका थिए । एकप्रकारले मलाई पोखरीको डिलबाट धकेलिदिएका थिए उनले ।

देशको राजनीति दिनहुँ नाटकीय ढंगले विकास हुँदै थियो । बाह्रबुँदे सहमति भइसकेको थियो । राजा ज्ञानेन्द्रको सैनिक शासनले ‘प्रजातान्त्रिक’ दलहरूको साथ गुमाइसकेको थियो । एकातिर उपन्यास लेख्ने हठाग्रह, अर्कोतिर जनयुद्धकालीन समयको मिहिन इन्द्रेणीमय चित्र उतार्ने गहिरो प्यास । टल्सटय, गोर्की, चेखब, दोस्तोबस्कीजस्ता रुसी लेखकले आफ्नो समयको रुसको जिन्दगीका अनेक पक्षलाई चित्रमय जादु प्रदान गरे । माक्र्वेजजस्ता लेखक ल्याटिन अमेरिकी जीवनका शोषण र विद्रोह, आकांक्षा र दैनन्दिन परिवेशलाई भाषाको जादुगरी चलचित्र खिच्न सफल भए । फणीश्वरनाथ रेणुजस्ता भारतीय लेखकले भारतीय जनजीवनका अनेक घामछायालाई जाज्वल्यमान मोज्याकमा उतारे । के हामी हाम्रो समयको, हाम्रो परिवेशको, हाम्रो माटोको कथालाई क्षितिजसम्म पुर्‍याएर इन्द्रेणी झैँ टाँग्न सक्दैनौँ ? मनले प्रश्न गरिरहन्थ्यो ।
मसँग मैले भोगेका जीवनका झिल्का थिए । नजिकैबाट देखेका अनेक त्रासदीका लप्का थिए । मानवअधिकारको क्षेत्रमा काम गर्दाका अनुभव थिए । मकवानपुरको भिमान हत्याकाण्डको दर्दनाक दृश्य मनको भित्री पर्दामा छापिएको थियो । अग्ला भीरपहरा, चुरेका खोँच, सुदूरगाउँहरू पुगेर छापामारसँग भलाकुसारी गरेका झल्याकझुलुक अनुभूति थिए । उनीहरूका आँखाका कोसमा फुलेका गुराँस हेर्ने मौका पाएको थिएँ । दुःखको विशाल पहाडमुन्तिर किचिएर, थिचिएर र मिचिएर बाँचिरहेका तामाङ गाउँहरूलाई सुँघेर अनुभूत गर्ने धृष्टता गरेको थिएँ । रातबिरात उठेर कम्प्युटरको किबोर्डमा औँला चलाउँथे र एक्लै खुसीले मख्ख हुन्थेँ । अक्षरका लस्कर बन्थे, भत्कन्थे । असफल हुन्थेँ, तैपनि खुसी नै हुन्थेँ । असफल हुनु पनि केही हुनु नै त हो ।

शृंखलाबद्ध अधुरोपन
०६२ माघमा पोखरा जाने निधो गरेँ । १५ दिनका निम्ति क्याम्पसमा जाडो बिदा थियो । नौलो परिवेशले उपन्यास स्वतः लेखाउनेछ भन्ने बहाना -या भ्रम) थियो मनमा । घर व्यवहारका अदृश्य इलेक्ट्रोम्याग्नेटिक किरण अर्थात् झयाउलाको प्रभावबाट मुक्त हुने इच्छा पनि थियो । मित्र सुरेश रानाभाटको डेरा थियो पोखरामा । छतबाट एयरपोर्ट र हवाईमैदान प्रस्ट देखिन्थ्यो । दिन र रातका परिधिलाई भत्काएर आफ्नै परिधि निर्माण गरेँ र अराजक शैलीमा उपन्यास लेख्ने धुन बाँच्न थालेँ । सुरेशको ल्यापटप मेरो साथी बन्थ्यो ।

एउटा मध्यरात म छतमाथि एक्लै टोलाइरहेको थिएँ, कथाको प्लट बुन्ने, अनौठा वाक्य सुझाउने उपक्रम चलिरहेको थियो मनमा । एकाएक हेलिकोप्टरको चहल-पहल बढयो हवाईमैदानमा । त्यो रात माओवादी जनसेनाले पाल्पाको तानसेनमा आक्रमण गरेको थियो । म किंकर्तव्यविमूढ भएर हवाईमैदानतिर हेरिरहेँ । हेलिकोप्टरले लास र घाइते ओसारिरहेका थिए सायद । यस माटोमा उम्रेका नयाँ आकांक्षा, यही परिवेशमा पलाएका विचित्र बलिदानी भावनालाई उपन्यासको संसारमा प्रतिस्थापन गरिछाड्ने इच्छा अझ तीव्र भयो त्यो रात । पोखराबाट अधुरो उपन्यासका करिब डेढ सय पेज सिडीमा भरेर हेटौँडा फर्किएँ ।

यसैबीच, दोस्रो जनआन्दोलन सुरु भयो । दिलोज्यानले भाग लिएँ । मैले जुन समयको चित्र उतार्न अधुरो उपन्यास लेखेको थिएँ, जनआन्दोलनपछिको स्थितिले त्यो अधुरोपनलाई सधैँका लागि अधुरै राख्न भूमिका खेल्यो । परिवेश बदलिएपछि उपन्यास अधुरै किन रहन गयो ? मैले बुझ्दै गएँ, उपन्यासमा पात्रहरू थिए, उनका उच्छवासहरू थिए, तर फिक्सनको चरित्रलाई इतिहासको चरित्रले ढाकेर राखेको रहेछ । त्यसैले इतिहासको पानामा नयाँ अध्याय पल्टिँदा उपन्यास थिचियो । देशको राजनीति ऐतिहासिक मोडबाट अघि बढयो । माओवादी शान्ति सम्झौतामा आयो, जनसेना क्यान्टोनमेन्टमा बस्न थाले । सारा विस्मयकारी घटनाक्रम विस्फारित नजरले हेर्दाहेर्दै उपन्यासको अधुरो पाण्डुलिपि मनभित्र मसिनो धर्सोजस्तो सम्झनामा बिलायो ।

बिदामा मकवानपुरका डाँडाकाँडा घुम्न थालेको थिएँ । जीवनका वास्तविक रंगको अनुसन्धान गर्नु मेरो उद्देश्य हुन्थ्यो । ग्रामीण जीवनका अनेक पक्ष खोतल्ने अभियान हुन्थ्यो । केही दिन चितवनको शक्तिखोर क्यान्टोनमेन्ट क्याम्पमा पनि बसेँ । घाइतेका पीडा सुनेँ । जीवनलाई चुनौतीसरह बाँचिरहेका मान्छेका कथा सुनेँ ।

०६४ को दसैँ बिदामा फेरि उपन्यास लेख्ने धुन सवार भयो । उदय घर गएको मौका थियो, उनको डेराको साँचो लिएँ । उदय र डिल्ली सरका कोठा मेरा निम्ति उदार हृदय खोलेर खाली-खाली थिए । मैले पुरानो डेस्कटप कम्प्युटर त्यहाँ ल्याएँ, पुस्तक ल्याएँ अनि पुरानो ड्राफ्ट पनि अघिल्तिर राखेँ । अधुरो उपन्यासलाई पूरा गर्नमा मन गएन, बरु नयाँ ढंगले विषयवस्तु उनेर अर्को उपन्यास सुरु गरेँ । करिब १५ दिनको एकान्तबासमा पुनः अर्को पौने दुई सय पेजको नयाँ उपन्यास तयार भयो, तर त्यो पनि अधुरै । त्यो अधुरोपनले पूरै एक वर्ष निलिदियो ।
०६५ को जेठ महिना पुनः गर्मी बिदाको निरस तापक्रम बोकेर आयो । म दामन जान चाहन्थेँ, चिसो र रमणीय वातावरणमा बसेर उपन्यास लेख्न । मनमा रुमानी भाव पलाउँथ्यो, मानौँ त्यसरी दामनको लेकाली मौसमले स्वतः उपन्यास लेखाउँथ्यो । उपन्यास लेखिछाड्ने चाहनाको हावाले त्यस्तो काल्पनिक उडानका वेग सिर्जना गरिरहन्थ्यो । दामनको शितोष्ण बागवानी विकास केन्द्रको गेस्टहाउसमा बसेँ ।

हाम्रो माटोको मौलिक जीवन खोज्ने क्रममा तामाङ जातिको इतिहास र किंवदन्ती खोज्न थालेँ । केही समयअघि यस्तो आइडिया फुरेको थियो, उपन्यासलाई इतिहासको निरस विषयबाट फिक्सनको रमणीय संसारमा लैजान म केही नयाँ खोजिरहेकै थिएँ । सर्कसबाट फर्किएका बच्चाबच्ची, वेश्यालयमा कैद भएका मंगोलियन आँखा, विकट पहरामा बिरानो जीवन बाँच्ने गरिब तामाङ गाउँले अजीवको चिसो कुदाउँथ्यो रक्तनसामा । किंवदन्ती, मौखिक इतिहासका अवशेषको संकलन र थुप्रै मानिससँग गरिएका कुराको रंगी-बिरंगी संसारबाट उर्गेनको घोडाको अमूर्त चित्र मनमा बन्यो । म उत्साहित भएँ र त्यसलाई अझ मूर्त बनाउन कम्मर कसेर लागेँ । तर, दामनमा धेरै दिन बस्न सकिएन । त्यसपछि एक वर्ष लेख लेख्ने, अध्ययन गर्ने र अंग्रेजी पढाउने चक्करमै दिन बितिरहे । दिनलाई रोक्न सकिन्नथ्यो, उपन्यास अधुरै छ भनेर दिनलाई रोक्ने धृष्टता गर्न पनि के सकिन्थ्यो ।

बल्ल पूरा भयो उपन्यास
०६६ को दसैँ-तिहार बिदा करिब एक महिनाको थियो । मैले घरमा सल्लाह गरेँ । यसपटकको दसैँ-तिहारको रमाइलो कटौती गर्ने र उपन्यास पूरा गरिछाड्ने । घरनजिकै रहेको एभोकाडो होटलको कोठा नम्बर १०८ मा डेरा सरेँ । रात-दिन काम गर्नुको विकल्प थिएन । यसपटक पनि मसँग उपन्यास थिए, मार्खेजको वन हन्ड्रेड इयर्स अफ सोलिच्युड, विलियम फाक्नरको साउन्डस् एन्ड फयुरी, निर्मल बर्माको वे दिन, गोर्कीको आमा, पारिजातको शिरीषको फूल, दोस्तोबस्कीको क्राइम एन्ड पनिस्मेन्ट, टल्सटयको वार एन्ड पिस इत्यादि । नेपाली शब्दकोश, तामाङ जातिका मौखिक इतिहास, संस्कृति, लोककथा र किंवदन्तीका किताब, नन्दकिशोर पुनको इतिहासका रक्तिम पाइलाहरू, माओवादी जनयुद्धसँग सम्बन्धित दस्तावेज, संस्मरण, देवकोटाका निबन्धहरूको संग्रह इत्यादि पनि ओछयानमा यत्रतत्र छरिएका थिए । इन्टरनेटबाट डाउनलोड गरिएका कैयौँ किताब तथा तामाङ जातिसँग सम्बन्धित सामग्री पनि अदृश्य मेमोरीभित्र उग्राइरहेका थिए । केही दिनसम्म पढेर बसिरहेँ । अहँ उपन्यास सुरु गर्ने कुनै दमदार प्रसंग फुरेको थिएन ।

एक दिन मैले सुरु गरेँ । कठोरताका साथ पूरै रात अनिदो बसेर मैले उपन्यास सुरु गरेँ । त्यतिन्जेलमा दिमागमा उपन्यासको मोटामोटी खाका बनाएको थिएँ, तर त्यसलाई लिपिबद्ध गरेको थिइनँ । पच्चीस अध्यायलाई शीर्षकमा बाँडेको थिएँ, तर हरेक शीर्षक कथाका रूपमा होइन, सामान्य अनुमानका रूपमा मस्तिष्कमा उब्जेका थिए । दिनहुँ लेख्दै गएँ र कथा आफैँ अघि बढ्दै गयो । उर्गेनको घोडालाई तामाङ जातिको बिर्सिएको, हराएको, दबाइएको इतिहासको एउटा मिथकीय विम्बका रूपमा अनुमान गरेको थिएँ र त्यो घोडाको विम्बले बोकेको इतिहास चेतनाले उत्प्रेरित गर्ने एउटी छापामार केटी म्हेन्दो भने मेरो मनमा गाढा छापजस्तो भएर बसेका थिए ।

म्हेन्दो भनेको फूल हो, तामाङ भाषामा । म्हेन्दो नामकी तामाङ केटी गाउँमा आइरहने छापामारको तिलस्मी विम्बसँग बहकिन्छे र क्रमशः छापामार जीवनमा पाइलो हाल्ने हिम्मत जुटाउँछे । ऊ छापामार हुनुसँग उर्गेनको घोडाको हिन्हिनाइ समरूप भएर आउँछन् । त्यो इतिहास चेतले उसलाई आफ्नो जातिको गुमेको इतिहास, बिर्सिएको आत्मसम्मान खोज्न उसलाई अभिप्रेरित गर्छ ।

तामाङ जातिका मानिसले मकवानपुरका विकट पहाडबाट आत्मसम्मानको अभियान सुरु गरेको कथा लेख्ने तयारी गरेपछि स्वतःस्फूर्त रूपमा रूपचन्द्र विष्टको ‘थाहा’ अभियान जोडिएर आयो । रूपचन्द्र विष्टका बारेमा सुनिएका किंवदन्ती र उनका संकलित रचनामार्फत प्राप्त हुने ज्ञानलाई उपन्यासमा उपयोग गर्ने कम्मर कसेँ मैले । अब इतिहासको उत्खननसँगै वर्तमानको संघर्षका खाका केही प्रस्ट भए । मेरो उपन्यासको प्लट पनि प्रस्ट हुँदै आयो । लेख्दै जाँदा कथाका पोया फुक्दै जान्थे । यो वास्तवमै हचुवा लेखन थियो, योजनाविहीन र बिल्कुल भावनाको बलले गरिएको अव्यावहारिक अभ्यास । तर, जुनसुकै सर्तमा यसपटक उपन्यास अधुरो नछाड्ने संकल्प गरेको थिएँ मैले ।

दसैँ र तिहार गरेर परिवारसँग जम्माजम्मी चार दिन बिताएँ । दिन रातमा परिणत भइरहेको थियो, रात दिनमा । कैयौँ दिन चौबीसै घन्टा जागै काम गरेको थिएँ । उपन्यासले वास्तवमै गति लियो । त/m करिब ६० प्रतिशत काम सिध्याएपछि ल्यापटप बिगि्रयो । जसोतसो सामग्री सार्न भ्याएँ । झल्याकझुलुक गरेर ल्यापटपको पर्दा विकृत हुन्थ्यो । वैकल्पिक ल्यापटप खोजी अभियान सुरु भयो । मेसिनले डामेपछि नराम्रोसँग डाम्दोरहेछ । प्रविधिको नशा गाँजाको भन्दा चर्को हुँदोरहेछ । अन्ततः नाताले सालो दिलिप बर्तौलाको ल्यापटप लिएर आएँ र पुनः काम सुरु गरेँ । यसपटक मैले क्रमभंग गरेको थिएँ । उपन्यास एक महिनामा पूरा गरिछाडेँ मैले ।
पाण्डुलिपि पढ्न दिएर सुझाव संकलन गर्ने इरादा सुरुदेखि नै थियो । काठमान्डू गएर खगेन्द्र संग्रौला र गोविन्द वर्तमानलाई पाण्डुलिपि दिएँ । यता उदय, दारीबा, पुष्प पराग र सञ्जीव सुवेदीले पाण्डुलिपि पढे । कैयौँ वर्षदेखि उत्साहहीन र पछुताउमय बनिरहेको मेरो जन्म दिन पुस १६ गते यसपटक उल्लासमय बन्यो । उपन्यासको पाण्डुलिपि टेबलमा राखेर केक काटेँ, हृदय गदगद थियो, मैले बाचा पूरा गरेको थिएँ । यसपटक निराशाजनक ढंगले बितेको एक वर्षको समीक्षा गर्नु परेन ।

झन्डै जग्गा दलाल भइयो !
मैले उपन्यास लेखिरहेको कुरा धेरैजसो साथीलाई थाहा थियो । कवि श्यामलले अन्नपूर्णपोस्ट दैनिकको एउटा लेखमा उर्गेनको घोडाका बारेमा उल्लेख गर्नुभयो । सायद त्यही पढेपछि सांगि्रला पब्लिकेसनका मणि शर्माले मसँग सम्पर्क गरे । उनले उपन्यासलाई छिट्टै अन्तिम रूप दिन हुटहुटी लगाए र चैतमा छाप्ने योजना सुनाए । मैले झट्ट निर्णय गरिहाल्न सकिनँ । अर्कोपटक दारीबा र म भएर मणिजीसँग सल्लाह गर्‍यौँ । किताब छाप्ने र विमोचन गर्नेसम्मका योजना निर्माण गरेर चैत २८ गते विमोचन गर्ने टार्गेटसहित म हेटौँडा फर्किएँ ।

त्यसबीच हेटौँडामा मध्यमाञ्चलस्तरीय व्यापार मेला लाग्यो । ऋणको बन्दोबस्त गरेर ल्यापटप किनेँ । मकवानपुर क्याम्पसमा धमाधम कक्षा चल्दै थिए । मैले भने फागुनभरिमा उपन्यासको अन्तिम पाण्डुलिपि पठाउनु थियो । क्याम्पसप्रमुख र सबै प्राध्यापकले सिर्जनात्मक कामका निम्ति सघाउने उदार हृदय खोलिदिए । म दुईवटा कक्षा लिन मात्र क्याम्पस गए हुन्थ्यो । माघका अन्तिम दस दिन कुन हिसाबले पुनर्लेखन गर्ने भन्ने भयानक द्विविधामा बित्यो । पाण्डुलिपि पढ्ने साथीको विचारमा एकरूपता थिएन, सबैको प्रतिक्रिया सैद्धान्तिक र अमूर्त थियो । जस्तै, नाटकीयता कम भयो, छापामारको डायरी जस्तो भयो, समाज आएन इत्यादि । यी प्रतिक्रिया सुनेर कहाँबाट काम सुरु गर्ने भन्ने भयानक अस्थिरताको साम्राज्यमा म प्रवेश गरेँ । चिया पसलमा घन्टौँ बहस भए, तर ठोस निष्कर्ष निस्कन सकेन ।

अन्ततः दारीबा र म ठूलो चार्टपेपर र मार्कर पेन बोकेर औद्योगिक क्षेत्रमा अवस्थित सुनसान चियापसल पुग्यौँ । जसै हामी चार्टपेपर चौरमा फैलाएर उपन्यासको अन्तिम खाकाका बारेमा छलफल गर्दै थियौँ, अरू मानिस हामीलाई जग्गा दलाल सम्झेर जग्गासम्बन्धी कारोबारका कुरा गर्न आइपुग्थे । उनीहरू चार्टपेपरलाई जग्गाको टे्रेसर नक्सा सम्झेका थिए । अन्तिममा ठोस सैद्धान्तिक निष्कर्षमा हामी पुग्यौँ- उपन्यासको सम्पूर्णतः पुनर्लेखन गर्ने ।

अलबिदा गिरिजाबाबु, वेलकम उपन्यास
फागुनको आरम्भसँगै म पुनः कोठा नम्बर १०८ मा गुप्तबास प्रारम्भ गर्न पुगेँ । झन् कठोर तपस्या सुरु भयो । बाहिरी संसारबाट पूरै कटेर सिर्जनात्मक विपश्यना गरिरहेको थिएँ । क्याम्पसमा दुइटा कक्षा लिन मेरो छाया जान्थ्यो, म त कुर्सीबाट उठेकै हुँदिनथेँ । ढाड दुखेर बेलाबेलामा मुर्छा पर्छु झैँ हुन्थ्यो । वेलावेला बिरामी हुँलाझैँ तातिएर आउँथ्यो शरीर । तर, मैले हिम्मत हारेको थिइनँ । त्यतिवेलासम्म हिम्मत हारिनँ, जतिवेलासम्म मेरो टेबलमा ल्यापटप मुस्कुराएर बसिरहेको थियो ।

फागुन १५ गते एउटा उदास दिन थियो । मेरो ल्यापटप हरायो । निराशाको कालो बादलले घेरिएको मनले भनिरहयो, ल्यापटप चोरे पनि चोर्नेले त्यसभित्रका डिजिटल सामग्रीचाहिँ दिए हुन्थ्यो । मेरो उपन्यासका एक दर्जन अध्याय थिए सायद । यो एउटा भयानक दुर्घटना थियो । अब पुनः पहिलो वाक्य लेख्ने हिम्मत जुटाउन सकिरहेको थिइनँ म । मैले घोषणा गरेँ, अब उपन्यास समाप्त भयो, म तत्कालै होटल छाड्छु । दारीबा, पुष्प पराग दुई प्राणी मलाई कुरेर होटेल कम्पाउन्डभित्र बसेका थिए । उनीहरूले पनि घोषणा गरे- चोरले ल्यापटप पो चोर्‍यो, युग पाठकको दिमाग चोर्न सकेको छ र ?

चार वर्षदेखि गरिरहेको संघर्षको याद तगडा थियो । तैपनि पुनः उपन्यासको पहिलो हरफ लेख्नुपर्ने कल्पना मात्रले मलाई पानी-पानी बनाइदिन्थ्यो । तर, भागेर पो म कहाँ जान सक्थेँ ? मैले अघिल्ला दुई दिनमा आफूलाई स्वाभाविक बनाएँ र पुनः पहिलो हरफ लेख्ने हिम्मत गरिछाडेँ । पहिलेको भन्दा दुईगुणा गतिमा अघि बढ्नुको विकल्प थिएन । म लेख्दै गएँ । अनुभवले खारिएको थिएँ म । सबैले देख्दा पहिलो उपन्यास लेख्दै थिएँ, तर यसै क्रममा मैले तीन-चारपटक उपन्यास दोहोर्‍याएर लेखिसकेको थिएँ, अधुरै सही ।

निरन्तर लेखाइले पातापाखुरा दुखेर वेलावेला आँसु रसाउँथे आँखामा, अनायासै सुतिदिन मन लाग्थ्यो, एकान्त यस्तोसित आरोपित गरेको थिएँ वेलावेलामा चिच्याउन मन लाग्थ्यो । कम्मरको दुखाई कम गर्न पेनकिलरसमेत सुटुक्क खाएको थिएँ । सम्पूर्णतः कोठा नम्बर १०८ मा सीमित भएको थिएँ । मलाई खर्च वा बजेटको कुनै पर्वाह थिएन । स्वयं आफ्नै ज्यानको पर्वाह थिएन, पागलपनको पर्वाह थिएन, स्वास्थ्यको पर्वाह थिएन । बस्, म लेख्न चाहन्थेँ, लेखिरहन चाहेन्थेँ । साथीहरूलाई उपन्यास सक्किएको खबर सुनाउने उत्कट चाहनाले थिचिएर म आलसतालस भएको थिएँ ।

अन्ततः चैत ७ गते दिउँसो दुई बजेर एक मिनेट जाँदा उर्गेनको घोडाको अन्तिम शब्द लेखेँ र अन्तिम पूर्णविराम दिएँ । खुसीले आल्हादित मन खित्खिताएर हाँसिरहेको थियो । उल्लासित भएर फुर्किएका खुट्टा भुइँमा थिएनन् । साथीहरूलाई यो खुसीको खबर सुनाएर खुसी तुल्याउन हतार भइसकेको थियो । तर, कोठाबाट बाहिर निस्केर एभोकाडो रूखको फेदमा पुग्नासाथ होटल स्टाफले सुनाए- अघि १२ बजे गिरिजाबाबु बितेछन् नि । त्यस क्षणमा खुसी हुने मौका पनि गुमाएँ मैले ।

प्रस्तुति : विनोदविक्रम
Source : Naya Patrika

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s