नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यो आन्दोलन, सपना र मेरा नजर

Posted by नेपाली मुटु on May 6, 2010

प्रा.डा. अभि सुवेदी

आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो। तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन। मूलतः आन्दोलन सहर र सकडमै हुन्छ। आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ ।

अहिले एकीकृत नेकपा माओवादीले सडकमा जे गरिरहेको छ, यो पनि आन्दोलन हो । किनभने, उनीहरू निश्चित अनुशासनभित्र रहेर आफ्नो उद्देश्यप्राप्तिका लागि लडिरहेका छन् । यो दिशाहीन र ध्वंसपूर्ण पनि छैन। किन आन्दोलन गरिरहेका छन् ? यसमा उनीहरूले प्रस्ट विचार अगाडि सारेका छन् । कसैलाई उनीहरूको तर्क सही लाग्ला, कसैलाई गलत । तर, हामीले नागरिक भएर हेर्दा उनीहरूसँग आन्दोलनका केही बलिया आधार छन् भन्ने लाग्छ । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेका कदमपछि बनेको सरकार जनताप्रति अनुत्तरदायी भएकै हो । सरकारले शान्तिप्रक्रिया र संविधान बनाउनुभन्दा पनि सत्तालाई बढी ध्यान दियो । जिम्मेवार मन्त्रीहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडे । विदेशी शक्तिको हस्तक्षेप बढेर गयो । यस अवस्थामा माओवादीले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधीनता’को विषयमा उठाएका मुद्दाको आधार त्यति कमजोर देखिँदैन । यी कुराको समीक्षा गर्दा उनीहरूसँग आन्दोलन गर्ने आधार देखिन्छ । तर, आन्दोलनको जुन विधि माओवादीले अपनाए, त्योचाहिँ ठीक भएन । आन्दोलनका सजिला अन्य विकल्प पनि थिए । त्यसलाई प्रयोग गरेको भए देश, जनता र स्वयं माओवादीकै लागि पनि राम्रो हुन सक्थ्यो । आन्दोलनको आधार बलियो भए पनि विधि सही भएन भने त्यसको परिणाम गलत आउन सक्छ । अहिलको विधि प्रयोग गरेर आन्दोलन गर्नु निकै हतारो भयो ।

मे १ देखि सुरु आन्दोलनमा प्रत्येक दिन म सडकतिर गइरहेको छु । कुनै राजनीतिक उद्देश्यसाथ आन्दोलनकारी भएर होइन, आन्दोलनको विषयमा जानकारी लिन गएको हुँ । आन्दोलन कसरी भइरहेको छ ? सहभागी कहाँ/कहाँबाट छन् ? तिनका सपना कस्ता छन् ? यिनै जिज्ञासा बोकेर ठमेल, सुन्धारा, कलंकी क्षेत्रको आन्दोलनमा हेर्न गएँ । धेरै सहभागीसँग कुराकानी गरेँ । अहिले म एउटा निष्कर्षमा पुगेको छु- यो आमहडतालले आन्दोलनको नयाँ मानक स्थापना गरेको छ । आन्दोलनका पुराना मान्यता भत्काइदिएको छ । यो आन्दोलन सहर र सडककेन्दि्रत छ । तर, यी सबै गाउँबाट आएका मान्छे छन् । सुकिलो सडकमा गाउँले जमात उर्लिएको छ । धेरै अनुहार उदास छन् । बाहिरबाट यस्सो हेर्दा ती अनुहार थकित र निर्दोष देखिन्छन् । तर, विचारले प्रतिबद्ध छन् । उनीहरूको अठोट भयानक छ । आफ्नो कुरा नहिच्किचाई अरूसामु राख्न सक्छन् । यस्तो आन्दोलन युरोप र भारतमै पनि नभएको होइन । तर, त्यहाँ गाउँदेखि आन्दोलनकारी सहर पस्दा गाउँकै समस्या लिएर जान्थे । भारतमा गाउँले किसान आन्दोलन गर्न दिल्ली पुगे । तर, गाउँकै समस्या राखे । युरोपतिर पनि गाउँबाट आन्दोलन गर्न आन्दोलनकारी सहर गए । तर, उनीहरूले पनि गाउँकै समस्या बोले । गाउँबाट यता पसेका उनीहरूले गाउँको समस्या या मागबारे बोलेका छैनन् । अहिलेको देशको राजनीतिक माग नै गाउँलेको पनि माग बनेको छ । देशको चिन्ता छ, तिनलाई । मैलै कुराकानी गरेका धेरै सहभागी काभ्रे, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लाको ग्रामीण भेगबाट आएका थिए ।

सिन्धुलीबाट आएका एकजना युवालाई सोधे, ‘भाइ, तिमी किन आ’को ? उनले बडो गर्वका साथ भने, ‘जनताको अधिकार स्थापित गर्न आएको दाइ । माधव नेपालले राजीनामा नदिएसम्म हामी घर फर्किंदैनाँै ।’ उनको बुझाइमा माधवकुमार नेपालले राजीनामा दिएपछि माओवादीको नेतृत्वमा सरकार बन्छ । माओवादीको नेतृत्वमा सरकार बन्नु जनताको अधिकार स्थापित हुनु हो भन्छन् उनी । यसपछि गरिब जनताको सबै दुःख बढारिनेछ । काभ्रेबाट आएका अर्का वृद्धले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म घर नफर्किने बताए । वास्तवमा उनीहरू निकै दुःखी देखिन्थे । तर, आफ्नो दुःखभन्दा प्रधानमन्त्रीको राजीनामा महत्त्वपूर्ण रहेछ, उनीहरूलाई । गाउँबाट आएका ती मान्छेका साँच्चै ज्यूँदा सपना रहेछन् । फेरि उत्तिकै प्रतिबद्ध पनि । ती आन्दोलनकारी माओवादीको एजेन्डाप्रति प्रतिबद्ध मात्रै छैनन् । त्यो एजेन्डाभित्र गह्रुंगो सपना पनि देखेका छन् । माओवादीका ती एजेन्डा पूरा हँुदा, हाम्रा यी-यी समस्या समाधान होलान् भन्ने सपना तिनले देखेका छन् । आन्दोलनकारीको तत्कालीन राजनीतिक सपना माओवादीले भनेजस्तै अहिलेको सरकार ढाल्ने र माओवादीको नेतृत्वमा सरकार बनाउने नै हो । उनीहरूले देखेको सामाजिक सपना ‘वर्गहीन समाजको निर्माण’ नै हो । धनी, गरिब र साना, ठूला केही नभएको समाज निर्माण हुन्छ भन्नेमा उनीहरू विश्वस्त छन् । आन्दोलनकारीले आँखामा सजाएको अर्को ठूलो सपना आर्थिक पक्षसँग गाँसिएको छ । उनीहरूलाई लागेको छ, ‘माओवादीको हातमा सत्ता सञ्चालनको चाबी पुग्यो भने रातारात समृद्ध भइन्छ र, सबैखाले दुःख ढलेर जान्छ ।’ वास्तवमा यी सपना उनीहरू आफँैले देखेका होइनन्, माओवादीले देखाएका हुन् । र, उनीहरू त्यसकै पछाडि कुदिरहेछन् ।

आन्दोलनसँग उनीहरूको सपना जोडिएकाले त्यो सफल भए पनि, असफल भए पनि सपना प्रभावित हुन्छ नै । आन्दोलनको सफलता वा असफलताले बढी प्रभावित पर्ने सपनाचाहिँ राजनीतिक सपना हो । यीबाहेक आन्दोलनको सफलतासँग अन्य सपना त्यति प्रभावित बन्छजस्तो लाग्दैन । किनभने, उनीहरूको बुझाइ प्रधानमन्त्रीले राजीनामाचाहिँ तुरुन्तै दिनुपर्छ भन्ने हो । पार्टीले पनि यसरी नै प्रशिक्षित गरेर ल्याएको हुनुपर्छ, उनीहरूलाई ।

गाउँले राजनीतिक माग बोकेर आन्दोलन गर्न सहर छिर्नु यो आन्दोलनको खास विशेषता रहेको छ । यहाँनिर आन्दोलनको विनिर्माण भएको छ । उनीहरूको आन्दोलनमा सहरजस्तै रंगिन सपना जोडिएको छ । बन्दुकबाटै सत्ता पाइन्छ भनेर त्यत्तिका वर्ष सशस्त्र युद्ध गरी केही वर्षअघि मात्रै शान्तिप्रक्रियामा आएको पार्टीले त्यति अनुशासित भएर आन्दोलन गरेको छ, यसलाई महत्त्वपूर्ण पक्ष मान्नुपर्छ । अर्को कुरा, मैले धेरै आन्दोलनकारीमा भारतविरोधी मनोविज्ञान पाएँ । अहिलेको सरकारसँग जति आक्रोश छ, त्योभन्दा बढी भारतप्रति रहेछ । माओवादीले उनका कार्यकर्तामा भारतविरोधी मनोविज्ञानलाई विकसित गराएका रहेछन् । कार्यकर्तालाई यसरी भारतविरोधी गतिविधिमा उकास्दै गए वा सबैमा यस खालको मनोविज्ञान विकसित हँुदै गयो भने यसको गलत परिणाम पनि आउन सक्छ । यी कारणले दुई देशबीच युद्ध नै हुन्छ भन्ने होइन । हजारौँ नेपाली आफ्नो भविष्य खोज्दै भारत पुगेर त्यहाँ काम गरिरहेका छन्, भारतीय पनि यहाँ आएर काम गरिरहेका छन् । यस्तो खालको मनोविज्ञान विकसित हुँदै जाँदा नेपालमा भारतीय नागरिकलाई निषेध र नेपालीलाई भारतमा निषेध गर्ने वातावरण निर्माण हँुदै छ र दुई देशका नागरिकबीचको भ्रातृत्व खल्बलिन सक्छ । भारतबाट नेपाली खेदिने र नेपालबाट भारतीय खेदिने अवस्था आउन सक्छ ।

म ०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएको थिएँ । त्यसवेलाका आन्दोलनमा सहभागीलाई नजिकैबाट हेरेको थिएँ । त्यसवेलाको आन्दोलन र अहिलेको आन्दोलनलाई तुलना गरेर हेर्दा धेरै भिन्नता पाइन्छ । त्यो सपनाको आन्दोलन थियो । यो एजेन्डाको आन्दोलन हो । यसमा सपना छैन भन्ने होइन, तर सपनाभन्दा बढी एजेन्डा छन् । त्यसवेलाका सहभागीले आन्दोलन सफल भएपछि सामन्ती युगको अन्त्य भएर नयाँ युगको सुरुवात हुन्छ र त्यो युग एकदमै स्वणिर्म हुन्छ भन्ने सपना देखेका थिए । तर, अहिलेको आन्दोलन एजेन्डाको मात्रै आन्दोलन हो । सरकार ढल्छ, अनि माओवादीको नेतृत्वमा सरकार बन्छ भन्ने आन्दोलनकारीको सपना ।

अर्को महत्त्वपूर्ण पक्ष, त्यसवेलाको जनआन्दोलनमा विभिन्न पृष्ठभूमिबाट आएका मान्छेको अभूतपूर्व मिलन थियो । धेरै पृष्ठभूमिबाट आएका मान्छेको राजतन्त्र ढाल्ने एउटै साझा उद्देश्य थियो । तर, तिनीहरूले देख्ने सपनाचाहिँ भिन्न-भिन्न थियो । त्यसवेला मैले र एउटा विद्यार्थीले देख्ने सपना फरक थियो । नेता र कार्यकर्ताले देख्ने सपना थियो । राजतन्त्रपछि यस्तो हुन्छ भन्नेमा सबैको अनुमान एउटै थिएन । यो आन्दोलनमा त्यस्तो छैन । एउटै पार्टीप्रति आस्था राख्ने समूहका धेरै मान्छेको मात्रै सहभागिता छ । र, उनीहरूको सपना पनि एउटै छ । जुन पार्टीले देखाएको हो । जनआन्दोलनमा सबै स्वतःस्फूर्त सडकमा ओर्लिएका थिए । त्यसवेला सबैमा ‘हाम्रो आन्दोलन’ भन्ने लागेको थियो । यो आन्दोलनमा आफँै आएका र ‘जानैपर्छ’ भनेर आएका दुवै छन् । आफँै आएका र जानैपर्छ भनेर आएकामा फरक हुन्छ ।

यो आन्दोलनमा गरिब, किसान तथा मजदुरको उल्लेख्य सहभागिता छ । नेपालमा जनसंख्याको ठूलो हिस्सा विपन्न र शोषितले ओगटेको छ । यो वर्गमा राम्रो प्रभाव हुनु सवल पाटो हो । अर्को सवल पाटोमा, पार्टीप्रति प्रतिबद्ध युवा जमात छ । शिक्षाबाट वञ्चित र बेरोजगार युवालाई संगठित गरेर पार्टीको काममा लगाउन सफल भएको छ, माओवादी । तर, भोलि सही समायोजन गर्दै नलैजाने हो भने ती युवा स्वयं माओवादीका लागि पनि प्रत्युत्पादक बन्ने सम्भावना रहन्छ । अर्को कुरा गाउँका अशिक्षित सामान्य नागरिकलाई पनि माओवादीले राजनीतिक चेतना भरिदिएको रहेछ । दूरदराजबाट आएका अशिक्षित नागरिक पनि राजनीतिक रूपमा सचेत भेटेँ । राजनीतिक चेतना भएपछि मात्रै सपना बाँड्ने हो । उनीहरूले सचेत बनाएर सपना बाँड्न भ्याएका रहेछन् । आन्दोलनमा सहरिया र शिक्षित अनुहारको उपस्थिति निकै कम देखिन्छ । यसमा चाहिँ उनीहरू कमजोर देखिन्छन् । सहरिया शिक्षित अनुहारको उपस्थितिले आन्दोलनमा छुट्टै महत्त्व राख्छ ।

०६२/६३ को ऐतिहासिक आन्दोलनको सफलतापछि नेपाली जनताले धेरै आपेक्षा गरेका थिए । तर, नेपाली जनताको बलिदानीबाट प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्ने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पाएका राजनीतिक दलहरूले बाटो भुले । गणतन्त्रलाई कसरी पूर्णरूपले संस्थागत गर्ने ? शान्तिप्रक्रियालाई कसरी निष्कर्षमा पुर्‍याउने ? यी समस्यालाई भन्दा कसरी सरकार बनाउने र ढाल्ने भन्ने खेलतिर लागेर मुलुक यो स्थितिमा आइपुगेको हो । सबै राजनीतिक दल यसमा जिम्मेवार छन् । यस्तो अवस्थामा सहमतीय बाटो छाडेर बहुमतीय खेलतिर लाग्नु देश र जनताका लागि ठूलो दुर्भाग्य थियो । तर, अहिले पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । प्रमुख राजनीतिक दल र उनका नेताले दलगत र व्यक्तिगत स्वार्थलाई त्यागेर, देश र जनतालाई केन्द्रबिन्दुमा राखोर काम गर्नुपर्छ । तत्काल मुलुकलाई निकास दिन प्रधानमन्त्रीले पनि उदार भएर राजीनामा दिनुपर्छ । र, माओवादीले पनि सबै आन्दोलनका कार्यक्रम स्थगित गर्नुपर्छ । कसले जित्ने, कसले हार्ने ? यसो गरियो भने सबैले जित्नेछन्
from : naya patrika daily

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s